सहकारीकर्मीलाई कृषि उद्यमी बनाउने लक्ष्य

सहकारीकर्मीलाई कृषि उद्यमी बनाउने लक्ष्य
कृषि विकास मन्त्रालय लगायतका विज्ञहरुको प्रशिक्षण रहने
Arthikdainik–07/12/070
काठमाडौं, चैत ६ ,
हकारी शिक्षा, सिद्धान्त तथा यसका आधारभूत विषयहरुमा मात्र केन्द्रित भई तालिम प्रदान गर्दै आएको केन्द्रीय प्रशिक्षण केन्द्रले सहकारीकर्मीहरुलाई उद्यमशील बनाउने लक्ष्य लिएको छ । कृषि तथा उत्पादनशील क्षेत्रमा काम गरिरहेका सहकारी संस्थाहरुलाई लक्ष्य गरी केन्द्रले पहिलो पटक ‘सहकारीमा उद्यमशीलता’ विषयक तालिम सञ्चालन गरेको हो । कृषि सहकारी संस्था र उद्यमशील क्षेत्रमा लागेका सहकारी संस्थालाई लक्ष्य गरी केन्द्रले सो तालिम सुरु गरिएको केन्द्रका प्राचार्य गणेश अर्यालले जानकारी दिएका छन् । पहिलो पटक केन्द्रले सहकारीकर्मीहरुलाई उद्यमशीलताका विषयमा तालिम सुरु गरेको भन्दै उनले भने, ‘यो तालिममा कृषि विकास मन्त्रालय, कृषिविज्ञ, कृषि विभागअन्तर्गतका विभिन्न निकाय, नेपाल राष्ट्र बैंकका प्रतिनिधिहरुले प्रशिक्षण तथा तालिम दिनेछन् ।

सो तालिमअन्तर्गत कृषिसम्बन्धी विभिन्न कृषि उपजहरु च्याउ, मह लगायतको उत्पादन, प्रशोधनसँगै कृषि उपजमा आईपिएम प्रणालीसम्बन्धी परीक्षण दिने तयारी भएको छ । २६ जिल्ला सहकारी संस्थाका प्रतिनिधि रहने सो तालिममा सहकारीमार्फत् सहकारीकर्मी तथा संस्थालाई कृषि लगायतका विभिन्न उत्पादनमुखी क्षेत्रमा लाग्न र उत्पादनमा दक्ष बनाउने उद्देश्य रहेको केन्द्रका प्राचार्य अर्यालको भनाइ छ । उनले केन्द्रले नियमित रुपमा सहकारी विभिन्न विषयवस्तुहरुमा तालिम तथा प्रशिक्षण दिए पनि यो अन्य तालिम तथा प्रशिक्षणभन्दा फरक रहेको दाबी गरेका छन् । विषयवस्तु, प्रशिक्षण र उद्देश्यसमेत फरक रहेको भन्दै उनले यो तालिमको मुख्य उद्देश्य सहकारी संस्थाहरुलाई यसमा आबद्ध गराएर कृषि लगायतका उत्पादनमुखी क्षेत्रमा सहकारीलाई परिचालन गरी आर्थिक निर्भरताको बाटो खोज्दै दक्ष उद्यमी बनाउने रहेको बताए ।

१५ दिनसम्म सञ्चालन हुने सो तालिममा २६ वटा सहकारी संस्थाहरुबाट एक÷एक जनाको प्रतिनिधित्व रहेको छ । सैद्धान्तिक तालिम तथा प्रशिक्षणको आवश्यकता रहे पनि सहकारीलाई दिगो बनाउनका लागि त्यो मात्र पर्याप्त नहुने भन्दै यस पटक केन्द्रले नियमित बजेटमै केन्द्रित रहेर सहकारी संस्थाहरुलाई उद्यमशीलतामा केन्द्रित बनाउनका लागि यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ । सहकारी संस्थाहरु उत्पादनमा जानैपर्ने प्रावधान रहे पनि त्यसतर्फ जानका लागि वातावरण आवश्यक भएको भन्दै केन्द्रले यो पटक कृषि विकास मन्त्रालय र कृषि विज्ञहरुद्वारा सहकारीमा कृषिलाई कसरी समेट्ने र कृषि उपजहरुको उत्पादनका विषयमा सहकारीकर्मीहरुले प्रशिक्षण पाउने जानकारी दिएको छ । सहकारीले संस्थाहरुले अनिवार्य रुपमा व्यवसाय तथा उत्पादनमुखी क्षेत्रका जानैपर्ने शर्त भए पनि मुलुकमा यो प्रणालीको अभ्यासले खासै महत्व पाएको छैन । सहकारीलाई आर्थिक विकासको सूचकका रुपमा अंगीकार गरिए यस सम्बन्धमा सहकारीकर्मीहरु नै सक्रिय भएको देखिँदैन भने तालिम तथा जानकारीको समेत अभाव रहेको छ । केही सहकारी संस्थाहरुले यस सम्बन्धमा जानकार भए पनि यसलाई लागू गर्न सकेका छैनन् भने केही सहकारी संस्थाहरु भने यसको नाम मात्रसँग परिचित तर काम तथा उद्देश्यमा जानकार हुन नसक्दा सहकारीले आर्थिक विकासमा दिनुपर्ने जति योगदान दिन सकेको छैन ।